नक्कली प्रहरी बनेर अपहरण र डकैती गरेको आरोपमा वाईसीएल नेता पाण्डे पक्राउ



मोरङ,१९ असार । नक्कली प्रहरी बनेर अपहरण र डकैतीको घटनामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिगका नेता कुशल पाण्डे पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। उनले अपहरण र डकैती गम्भीर घटना भएको बताउँदै यस विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले विराटनगर ११ का २६ वर्षीय पाण्डेलाई बुधबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा विराटनगरमा पाण्डेकै योजनामा अपहरण र डकैती भएको खुलेको छ।

प्रहरीले पाण्डेविरुद्ध शरीर बन्धक बनाई डाँका गरेको कसुरमा मुद्दा चलाउने जनाएको छ। यसका लागि बिहीबार प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रहरीका अनुसार विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी र विराटनगर – ८ का २४ वर्षीय समीर हुसेन यसअघि पक्राउ परिसकेका छन्। दुवै जनामाथि प्रहरीले शरीर बन्धक बनाई डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार आफूलाई प्रहरी बताउने ३ जनाको समूहले असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो।

प्रहरीका अनुसार मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले अपहरण गरी विराटनगर–१४ जतुवा पुर्‍याएर रकम लुटपाट गरेका थिए। आफ्नो भिनाजु धर्मानन्द साहले ३ लाख ५० हजार रुपैयाँ बैंकमा जम्मा गर्न दिएको अभिभारा पूरा गर्ने क्रममा हिँडेका विक्रमलाई उनीहरुले अपहरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्