रुपन्देही-३ मा कात्तिक १७ मा उपनिर्बाचन, मतदाता नामावली दर्ता स्थगित



काठमाडौं,१६ असार । रुपन्देही क्षेत्र नं. ३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।

प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि रिक्त बनेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन आयोगले संविधानको धारा ८४ को उपधारा ७ र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम असोज १७ मा उपनिर्वाचन गर्ने निर्णय गरेको जनाएको छ।

निर्वाचन आयोगले उक्त उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र मतदातालाई सहयोगका लागि आग्रह गरेको छ।

यसैबीच,मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य भोलिदेखि स्थगित हुने सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्