श्रेष्ठ टेलरिङ्ग सेण्टरले मनायो ५० औं बार्षिकोत्सव,प्रोप्राइटर श्रेष्ठ सम्मानित
काठमाडौं,१५ असार ।नेपाली सर्टिङ,सुटिङ र टेलरिङ्ग क्षेत्रमै पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ्ग सेण्टरका प्रोप्राइटर बाबुकाजी श्रेष्ठ सम्मानित हुनुभएको छ।

श्रेष्ठ टेलिरिङ सेण्टर स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा शनिबार काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा नेपाली टेलरिङ्ग क्षेत्रको बिकास,बिस्तार संगठित गर्न मह्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल टेलरिङ्ग ब्यबसायी महासंघले वहाँलाई सम्मानित गरेको हो।
नेपाल कपडा तथा सिलाई ब्यबसायी संघका संस्थापक अध्यक्ष सिद्दिबीर बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल टेलरिङ्ग ब्यबसायी महासंघका अध्यक्ष सतिश श्रेष्ठले वहाँलाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो।कार्यक्रमका बक्ताहरुले श्रेष्ठ टेलरिङ्ग सेण्टर स्थापनापछि बाबुकाजी श्रेष्ठले ब्यबसाय मात्रै नगरी एउटा अभियान नै सञ्चालन गरेको भन्दै वहाँको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
स्थापनाको ५० बर्षसम्म आईपुग्दा श्रेष्ठ टेलरिङ्ग सेण्टर ब्यबसायमा मात्रै सिमित नभई ब्राण्डका रूपमा स्थापित भएको बक्ताहरुको भनाई थियो । टेलरिङ्ग ब्यबसायलाई संगठित गरेर यो अवस्थासम्म ल्याई पुर्याउन वहाँले महत्वपूर्ण योगदान गरेको वहाँहरुले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बज्राचार्य,नेपाल टेलरिङ्ग ब्यबसायी महासंघका अध्यक्ष श्रेष्ठ,पूर्ब अध्यक्ष गोपाल परियार,श्रेष्ठ टेलरिङ्ग सेण्टरका कर्मचारी इन्द्रमणि ढकालले श्रेष्ठ टेलरिङ्ग सेण्टरको स्थापना र हालको अवस्थासम्म आइपुग्न बाबुकाजीले गरेको संघर्ष र सफलताको बिस्तृत चर्चा गर्नुभएको थियो । बाबुकाजी श्रेष्ठले आफूले मात्र ब्यबसाय नगरेर अहिले छोराछोरी र नाति पुस्तासम्म फैल्याईसकेको बताउँदै नाति पुस्तासम्मले हजुरबाको पदचाप पछ्याएर हिंडेको उदाहरण नेपाली व्यावसायिक क्षेत्रमा बिरलै पाईने टेलरिङ ब्यबसायी महासंघका अध्यक्ष सतीष श्रेष्ठले बताए ।
आराधना कम्प्लेक्स बागबजारमा मुख्य ब्यापारिक शोरूम रहेको सेण्टरले हाल काठमाडौंको मैतीदेवी,चावहिल,त्रिपुरेश्वर,चुच्चेपाटी,धुम्बाराही लगायतका स्थानमा शाखा बिस्तार गरेर सञ्चालन गर्दै आएको छ । यसको बिकास,बिस्तार र ब्राण्डिङ गर्न श्रेष्ठलाई सहयोग गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सो कार्यक्रममा सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमका सभापतिसमेत रहेका सेण्टरका प्रोप्राईटर श्रेष्ठले ब्यबसाय सञ्चालनका क्रममा अनेकौं उतारचढाव आए पनि ग्राहकको सन्तुष्टिसंग कहिल्यै सम्झौता नगरेका कारण श्रेष्ठ टेलरिङ्गले सर्टिङ सुटिङ र टेलरिङ्गको क्षेत्रमा यो सफलता प्राप्त गरेको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय सेवासहित ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्रेष्ठ टेलरिङ्ग सेण्टरको स्थापना २०३१ सालमा भएको थियो ।

