सरकारको काम कारबाही सन्तोषजनक रहेको एमालेको निष्कर्ष
काठमाडौं,११ असार । सत्तारुढ दल नेकपा एमालेले सरकारको काम कारबाही सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारले एक वर्षमा गरेको काम र राष्ट्रिय राजनीतिका विषयमा समीक्षा गर्दै सो निष्कर्ष निकालेको हो।बैठकमा एमालेको आन्तरिक विषयमा पनि छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकपछि उपमहासचिव ज्ञवालीले सञ्चारकर्मीहरुसंग सरकारमा एमालेको उपस्थिति प्रभावकारी बनेको बताउँदै भने,‘सरकारका बारेमा विभिन्न हल्ला चलाइयो। तर दुई पार्टीको समझदारी बलियो बन्दै गएको छ। मुलुकको अर्थतन्त्रले पनि लय समातेको छ। विरोधका स्वरहरू पनि सम्बोधन हुँदै गएका छन्।’
उपमहासचिव ज्ञवालीले गत वर्ष अरूले बनाएको बजेट र नीतिमा काम गरेकाले सोचेजस्तो काम नभएको बताए। तैपनि राम्रो गर्ने प्रयास गरेको उनले बताए। उनले भने,‘प्रतिगमन र राजतन्त्रका नाममा विभिन्न गतिविधि भए। त्यो अहिले निस्तेज भएको छ। देशले सही दिशा लिएको छ।’
बैठकले साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पनि ज्ञवालीले जानकारी दिए।एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ ।
विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीका अनुसार अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव तयार गर्नेछन् ।
ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन् । विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ ।साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्यूरो बैठक बस्नेछ ।केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ । पार्टी नेतृहरु बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई गरेको कारबाही पनि बैठकले फुकुवा गरेको छ।

