भोलिलाई सर्यो अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदानको समय


यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको हो ।
आज बिहान मतदान हुने भनिएको भएतापनि मेसिनबाट मतदान हुने हुँदा नाम सेटिङका लागि ५/६ घण्टा लाग्ने भन्दै अहिले बेलुकाबाट मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो ।
तर सो तालिका पनि संशोधन भई बेलुका ८ बजेको तालिका सार्वजनिक भएको थियो।नेतृत्वका लागि दुई प्यानलै बनेर नयाँ नेतृत्वको लागि निर्वाचनमा होमिएका छन् ।
अध्यक्ष, उपाध्यक्ष र महासचिवमा दुई प्यानल बनेका छन् । एक प्यानलको नेतृत्व डा. सुजन कडरियाले गरेका छन् भने अर्को प्याननको नेतृत्व प्रकाश पौडेलले गरेका छन् । कडरियाको टिममा महिला उपाध्यक्ष अञ्जना शिवाकोटी र महासचिव दीपक धामी छन् । पौडेलको प्यानलबाट महिला उपाध्यक्ष आरती भट्टराई र महासचिवमा आरके रोमस छन् ।
खुल्ला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा सुनिता धिताल र भवानी बजगाईंको पनि उम्मेदवारी परेको छ । त्यस्तै महासचिवमा धामी र रोमसका साथै सुनिल कँडेलको उम्मेदवारी परेको छ ।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीले उम्मेदवारी दिएका छन् । सचिवमा रक्षा बम, मदन भण्डारी, राजेश ओली, नवीन अर्याल , मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेललगायतले उम्मेदवारी दिएका छन् ।
सोमबार महाधिवेशन हलमा हाई कमाण्डका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै अध्यक्षमा कडरिया, उपाध्यक्षमा पौडेल, अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावविरुद्ध हलमा नै नाराबाजी लाग्यो । सोमबार दिनभरि सर्वसम्मतको प्रयास जारी राखे पनि आकांक्षीहरूले र प्रतिनिधिहरूले निर्वाचनको माग गरेपछि हाई कमाण्डको कोसिस खेर गएको थियो ।
बालुवाटारमा बसेर नेताहरूले सर्वसम्मत गर्ने भनेर पठाएको लिस्ट हलले अस्वीकार गरेर निर्वाचनको माग गरेको थियो । हलले निर्वाचनको माग गरेपछि एमाले नेतृत्व मतदान स्वीकार्न बाध्य भएको हो ।

