आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध, अर्को बैठक भोलि १ बजे बस्ने
काठमाडौं,२८ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले बैठक सुरु हुनेवित्तिकै उठेर अवरोध
गरेपछि बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ।

यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउने प्रयासस्वरुप सवा ३ बजेका लागि सारिएको थियो । तर, बैठक झण्डै आधा घण्टा पछि सुरु भएको थियो ।सभामुख देवराज घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि उनले बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरेका हुन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि नौ दिनदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ ।अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेपछि गृहमन्त्री लेखकमाथि राजीनामाको दबाब परेको थियो ।
उनलाई कांग्रेसकै नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन सुझाव नै दिएका थिए । तर, गृहमन्त्री लेखक आफूमाथि उठेका प्रश्नहरूको जवाफ संसद्मै दिने तयारीमा लागे ।
जेठ १३ गते बसेको संसद् बैठकमा उनले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग समय मागेका थिए । तर, प्रतिपक्षी दलहरूको अवरोधका कारण उक्त दिन बैठक सञ्चालन हुन सकेन । भोलिपल्ट जेठ १४ गते बसेको बैठक पनि प्रतिपक्षी दलले अवरुद्ध गरे ।
जेठ १५ गते प्रतिपक्षले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने प्रयोजनका लागि मात्र संसद् चल्न दिने सहमति सत्तापक्षसँग गरे । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरे ।
बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्काे बैठक जेठ २० गतेका लागि बोलाएका थिए । प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ २० देखि २७ गतेसम्म संसद् बैठक लगातार सात दिन अवरुद्ध भइसकेको छ ।
यसअघि प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारका बेला तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै दुई महिनाको अवधिमा २२ वटा संसद् बैठक अवरोध गरेको थियो ।

