टेम्पो दुर्घटना हुँदा सोलुखुम्बुमा एकजनाको मृत्यु,तीन घाइते
सोलुखुम्बु,२३ जेठ । जिल्ला सदरमुकाम सल्लेरीबाट ओखलढुङ्गातर्फ गइरहेको अटोरिक्सा (टेम्पो) दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । मृतक र घाइतेहरूको विस्तृत विवरण र परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटना मंगलबार बिहान सोलु दूधकुण्ड नगरपालिका–८ स्थित सिकारी डाँडामा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका एक पुरुषको घटनास्थलमै ज्यान गएको हो। घाइते भएका अन्य तीन जना पनि पुरुष रहेको र उनीहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।
घाइतेमध्ये टेम्पो चालक राजेश विक पनि छन्, जसको अवस्था समेत गम्भीर रहेको प्रारम्भिक जानकारी आएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सल्लेरीस्थित अस्पतालतर्फ पठाइएको छ।
टेम्पो अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको थियो।

