राष्ट्रिय युवा संघको नेतृत्व चयनका लागि आज मतदान हुँदै
पोखरा,१३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।

बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत जय गुरुङले जानकारी दिए । दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको उनले बताए । ‘४५ वटा विद्युत्तिय मेसिनमार्फत मतदान हुन्छ’, उनले भने ।
राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा हाल अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेसी सचिवमा मोबिन आलम उम्मेदवारबनेका छन् ।
पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा धुर्ब खड्का र अरूण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेसी सचिवमा चितरञ्जन यादवले प्रतिस्पर्धा गर्दैछन् ।
युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन् । अध्यक्षसहित ९३ पदका लागि भोलि बिहानदेखि मतदान हुँदैछ । लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन कमिटीले हिजो साँझ सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार लेखा आयोगको उपाध्यक्षमा अमित कार्की र सचिवमा लोकेश पाल निर्विरोध निर्वाचित भएका हुन् । १ हजार ७६४ जना मतदाता रहेका छन् ।
महाधिवेशन जेठ ९ गते पोखराको अमरसिंहमा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए ।

