२५६९ औं बुद्ध जयन्तीका अवसरमा बुकारेष्टमा शान्ति सन्देशसहित र्याली सम्पन्न
दावा जाङ्बु शेर्पा,काठमाडौं,५ जेठ।रोमानियाको राजधानी बुकारेस्टमा २५६९ औं बुद्ध जयन्तीका अवसरमा भगवान गौतम बुद्धको शान्तिको सन्देश फैलाउने उद्देश्य सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल तामाङ घेदुङ रोमानिया र कग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयुक्त आयोजनामा शनिबार सम्पन्न कार्यक्रम बुकारेस्टस्थित संसद भवन अगाडि लामा गुरुद्वारा साङ पूजा (ध्वनि पूजा) बाट सुरु भएको थियो । उक्त पूजापछि सुरु भएको शान्तिपूर्ण र्याली शहर परिक्रमा गरी पुनः संसद भवन अगाडि पुगेर समापन गरिएको आयोजकले जनाएको छ।
र्यालीमा रोमानियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, रोमानियामा कार्यरत नेपाली समुदाय,बुद्ध धर्ममा आस्था राख्ने स्थानीय रोमानियन नागरिकहरूको समेत उल्लेख्य संख्यामा सहभागिता रहेको थियो।
कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा बुद्ध धर्म,बुद्धको जन्मस्थल र नेपाली पहिचानको प्रवर्द्धनमा टेवा पुर्याएको विश्वास लिइएको छ। आयोजक संस्थाहरूले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

