चेतन कार्कीको चौथो स्मृति दिवस सम्पन्न
ललितपुर,२ जेठ। चेतन कार्की स्मृति समाजले वरिष्ठ चलचित्र निर्देशक,संस्कृतिविद् एवं गीतकार स्वर्गीय चेतन कार्कीको स्मरण गरेको छ ।

कार्कीको चौथो स्मृति दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी कला,साहित्य तथा संस्कृतिको बिकासमा कार्कीले पुर्याएको योगदानको स्मरण गरेको हो ।
चेतन कार्की स्मृति समाजकी अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभापतित्वमा आयोजित सो कार्यक्रममा संस्थाका सदस्य एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले चेतन कार्कीको योगदानको चर्चा गर्दै कार्कीका रचनाहरु वाचन गर्दै कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी संरक्षक श्रीमती गंगा कार्की, चर्चित फिल्मी नायकहरु शिव श्रेष्ठ र रविन्द्र के. सी., गायक दिवाकर खड्का, सल्लाहकार डा. खगराज बराल, संस्थाका उपाध्यक्ष एवं चलचित्र कलाकार संघका अध्यक्ष सर्जक मोहन निरौला, कोषाध्यक्ष पंकज कार्की, संस्थाका सदस्यहरु सुवासचन्द्र ढुंगेल र दिव्य गिरी लगायतले पनि चेतन कार्कीको योगदानबारे विशेष मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानकी सचिव रितु कंडेल, सदस्य प्रमाश्री कार्की, इ. लालबहादुर भूजेल,सुनिता बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

