सरकारसंगको सहमतिबारे के भन्छन् शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी ?
file foto
काठमाडौं,१८ बैशाख । यस पटकको शिक्षक–कर्मचारी आन्दोलन २०८१ माघ २० गतेबाट शुरु भयो । समग्रमा आन्दोलन ८९ दिन चल्यो तथापि अन्तिम चरणको २९ दिनको काठमाडौं केन्द्रित सडक आन्दोलन सर्वाधिक चर्चामा रह्यो । यसको मुख्य कारण साथीहरुको उत्साहजनक सहभागिता र नेतत्वप्रतिको समर्थन हो । यसका लागि सबै आन्दोलनकारी साथीहरुप्रति अभारी छौं ।

१. लगातार २९ दिनसम्म चलेको काठमाडौं केन्द्रित सडक आन्दोलनमा पानी, घाम केही नभनी उत्साहका साथ सहभागी हुने सबै शिक्षक–कर्मचारी साथीहरुप्रति आभारी छौं । आन्दोलनको उपलब्धिका पहिलो श्रेय वहाँहरुमा जान्छ । त्यसैगरी महासङ्घका पदाधिकारी,आन्दोलन परिचालन समितिका संयोजक र सदस्य, आबध्द–सम्बध्द संस्थाको नेतृत्व,राहत,बालकक्षा,सिकाइ अनुदान, साविक उमावि,पेन्सन सरोकार समूह,प्राविधिक धार,विशेष शिक्षा तथा विद्यालय कर्मचारी साथीहरु सबैमा यसको श्रेय जान्छ । यी सबै साथीहरुप्रति आभारी छौं ।
२. विधेयकले कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरन्तै ऐन जारी हुने परिस्थिति रहेन । यो आन्दोलन यस्तैरुपमा महिनौं लम्ब्याउने अवस्था पनि जटिल थियो त्यसैले संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिबध्दता गराएर २०८२ असार १५ गते प्रतिनिधि सभाबाट पारीत हुने गरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौं ।
३. वर्षौ देखि नमिलेको समान ग्रेड र तलवको मुद्दा यसपटक हल भएको छ । अस्थायी प्रकृतिका साथीहरुको विरामी विदा सञ्चित हुने भएको छ । सिभिल अस्पतालमा कर्मचारीलाई जस्तै उपचार सुविधा पाउने निश्चित भएको छ । सबै शिक्षकका लागि दुर्गमभत्ता उपलब्ध हुने निश्चित भएको छ । मर्यादाक्रमको सवाल सम्बोधन भएको छ ।
४. साथीहरुले आवधिक बढुवा, अस्थायी अवधि गणना, पछिल्लो चरणमा स्थायी भएका साथीहरुको निवृत्तीरभण जस्ता विषयमा पनि मन्त्रीपरिषद बाट हुने निर्णयमा आउनुपर्छ भन्ने कुरा राख्नुभएको थियो तर यी विषय ऐनले सम्बोधन गर्ने विषय भएकाले ऐन मार्फत नै सम्बोधन गराइनेछ ।
५. २०७५ पछि स्थायी भएका साथीहरुको निवृत्तीभरणको सवालमा आन्दोलन कै क्रममा केही सफलता हात लागेका छ । यसलाई पूर्णता दिन निवृत्तीभरण कोष ऐन २०७५ को संशोधन गराउनु पर्छ । शिक्षा ऐन जारी सँगै यो ऐनको संशोधनका लागि समेत प्रयत्न जारी रहनेछ ।
६.अस्थायी प्रकृतिका शिक्षक(राहत, अस्थायी÷करार, साविक उमावि, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायत) को स्थायित्वको विषय सहमती वमोजिम् ऐनबाट सम्बोधन हुनेछ , इसिडकीका शिक्षक र विद्यालय कर्मचारीको समस्याको उचित निकास ऐन मार्फत खोजिनेछ ।
७. यसपटकको आन्दोलनमा कसैलाई कुनै चोटपटक नलागोस् भन्ने हाम्रो चाहना थियो तर छब्बिसौं दिनमा प्रहरीको दमनका कारण ६२ जना साथीहरु घाइते हुनुभयो ।ती सबै साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । आन्दोलनमा वहाँहरुको योगदानप्रति उच्च सम्मान छ ।
८. अब जारी हुने ऐन भित्र हाम्रा सहमतीका बुँदाहरु समावेश गर्ने सवालमा हामी पक्षीकरणमा लागि रहने छौं ।
-सामाजिक सञ्जालबाट

