आन्दोलन अझै चर्काउने नेपाल शिक्षक महासंघको निर्णय
काठमाडौं । काठमाडौं भेला भएर १३ दिन यतादेखि आन्दोलनरत शिक्षकहरुले आन्दोलनलाई थप चर्काउने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले सरकारले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै आन्दोलन थप चर्काउने भएका हुन्।

आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए। ‘हामीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने।
कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुँदैछ भने नयाँ शैक्षिक सत्र पनि सुरु भइसकेको छ। सरकारले भर्ना अभियान घोषणा गरे पनि महासङ्घले विद्यालय बन्दको घोषणा गरेको छ।

