एमालेले बैशाख ९ मा ‘कम्युनिस्ट योद्धा’ सम्मान र ११ गते ‘युथ सेलिब्रेसन’ गर्ने
काठमाडौँ,१ बैशाख । नेकपा एमालेले यही वैशाख ११ गते युवाहरूलाई लक्षित गरेर काठमाडौँमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ ।नेपालमा राजतन्त्र अन्त्य भएको दिनको अवसरमा पारेर एमालेले यो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टीको सोमबार बसेको सचिवालय बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्र अन्त्य भएको औपचारिक विजारोपण भएको दिन र २०६२ र ६३ को आन्दोलन सफलताको दिन हो ।’
जनताले जितेको दिनलाई ‘युथ सेलिब्रेसन’ को रूपमा युवाहरूलाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्त्व बताउन काठमाडौँमा ठुलो र भव्य कार्यक्रम गरिने उनको भनाई छ ।
यस्तै,वैशाख ९ गते पार्टी स्थापना दिवसका अवसरमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
उपमहासचिव ज्ञवालीका अनुसार सो दिन कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाण्डौकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गरिने छ।

