राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा कांग्रेसले इतिहास सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्छ : कोइराला
काठमाडौं,१ बैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरुमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने बताएका छन्।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सोमबार एक सन्देश जारी गर्दै कोइरालाले एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउने बताएका हुन।
उनले भनेका छन्, “हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटी हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ ।”
राजनीतिमा देखिएको विकृति विसंगतिको उपचारको खोजी पार्टीभित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आएका उनले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औँल्याए ।
भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धिकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गरेका छन्।
कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन पनि कोइरालाले अनुरोध गरेका छन् । file foto

