प्रदर्शनकारीको आक्रमणमा लेबनानमा नेपाली सेनाका उपरथी ढकाल घाइते
डिल्ली शर्मा, काठमाडौं।लेबनानको राजधानी बेरुत नजिक UNIFIL मिसनका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी/भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन् ।

फागुन ३ गते राती १२ बजेकाे समयमा उक्त घटना भएकाे हाे। घटना पश्चात उहाँलाई तत्कालै उद्धार गरी UN Level-3 Hospital बेरुत पुर्याइएको थियो । अस्पतालले हाल उहाँ खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमाण्डर,आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।
घटनाको सम्बन्धमा UNIFIL मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।
घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

