सोलुखुम्बुका स्थानीय तहमध्ये कार्यसम्पादन मुल्याङ्कनमा सोलुदुधकुण्ड पहिलो बन्न सफल
सोलुखुम्बु।स्थानीय तहहरूले सम्पादन गरेका क्रियाकलापहरूको विभिन्न १७ वटा सूचकहरूको मूल्याङ्कन गर्दा सोलुखुम्बुका ८ वटा स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो स्थान हासिल गर्न सफल भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कनका आधारमा ६९.८ अंक प्राप्त गरि सोलुखुम्बु जिल्लाका स्थानीय तहमध्ये सो नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको हो।
सो मूल्यांकनमा ६८.० अंक प्राप्त गरी थुलुङ दुधकोशी गाउँपालिका दोस्रो र ६३.० अंकसहित माप्य दुधकोशी गाउँपलिका तेस्रो स्थानमा छ। खुम्बु पासाङल्हामु गाउँपालिका ६०.२ अंकसहित चौथो भएको छ ।
यस्तै नेचासल्यान गाउँपालिका ५७.८ अंकसहित पाँचौं भएको छ । लिखुपिके गाउँपालिका ५६.२ ल्याएर छैटौं तथा ५३.४ अंक ल्याएर सातौं महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका ४९. ८ अंकसहित आठौं स्थानमा छ ।
सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट बन्न सफल हुनु सोलुदुधकुण्डनगरपालिकाको नयाँ उचाइ र गर्वको विषय भएको बताएका छन्।
यो उपलब्धि नगरवासी,नगरपालिकाको नेतृत्व,कर्मचारी, जनप्रतिनिधि तथा सम्पूर्ण नागरिकको मेहनत,पारदर्शिता र उत्कृष्ट कार्यसम्पादनको प्रतिफल भएको उनको भनाई छ।यसले
निरन्तर विकास,सुशासन र नागरिक सेवामा प्रतिबद्धता जनाउँदै अघि बढ्ने प्रेरणा मिलेको बताउँदै उनले यो ऐतिहासिक सफलताको लागि नगरको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

