रास्वपा सभापति लामिछानेविरुद्ध चौथो मुद्दा  दर्ता, चितवनमा २ करोड ७० लाख रुपैयाँ बिगो कायम



काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध २ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै चितवन जिल्ला अदालतमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता भएको छ ।

मंगलबार दर्ता भएको मुद्दामा लामिछानेविरुद्ध कुल बिगो २ करोड ७० लाख ४ हजार ५३७ रुपैयाँ कायम गरिएको हो ।जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार गोरखा मिडियामा जीबी राई, छविलाल जोशी बन्जाडे,लक्ष्मीप्रसाद पौडेल र रवि लामिछाने गरी कुल चार जना प्रतिवादीले कुल १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ ठगी गरी लगेको पाइएको हो । दामासाहीको दरमा चारै जनाविरुद्ध जनही २ करोड ७० लाख ४ हजार ५३७ रुपैयाँ बिगो कायम हुन आएको लुईंटेलले बताए।

५२ करोड रुपैयाँ उक्त सहकारीका बचतकर्ताको ठगी भएकोमा ३८ करोड ९ लाख रुपैयाँ बिगो कायम गरी कम्पनीसहित कुल ३२ जनाविरुद्ध मुद्दा दायर भएको लुइँटेलले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले सोमबार नै अभियोजन पेश गरे पनि मंगलबार मात्र मुद्दा दर्ता भएको हो । अभियोजन पत्रमा लामिछाने समेतको हस्ताक्षरमा संयुक्त सञ्चालन हुनेगरी खाता खोलेको दिनदेखि नै कानूनी दायित्व शुरू भएको देखिने दाबी गरेको छ ।

सहकारी ठगी सम्बन्धमा लामिछानेविरुद्ध दर्ता भएको यो चौथो मुद्दा हो । यसअघि कास्की,काठमाडौं र रूपन्देहीमा मुद्दा चलिसकेको छ । तीनवटै अदालतबाट लामिछाने धरौटीमा रिहा भएका छन् ।

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका थिए । लामिछानेविरुद्ध पर्सामा समेत प्रहरीले बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्