बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं।नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर २ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँले बढाएको छ।

निगम सञ्चालक समितिको बैठक आज मध्य रातीदेखि लागू हुने गरी पदार्थको मूल्य बढाउने निर्णय गरेको हो। यस्तै निगमले हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर डलर ४३ बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको १६० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्