राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न



डिल्ली शर्मा।महोत्तरी जिल्लाको बर्दिबास स्थित श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय र नवलपरासी जिल्लाको हात्तिखोर स्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिम समापन भएको छ ।

राष्ट्रिय सेवा दल,मध्य पूर्वी तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा शुक्रबार समापन भएको हो। सो अवसरमा रक्षामन्त्री राइले सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण क्याडेट छात्रछात्राहरूलाई बधाई दिँदै नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल तालिममार्फत युवाहरूलाई अनुशासित,नेतृत्ववान्,बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाई राखी राष्ट्रिय एकताको भावनालाई थप मजबुत र बलियो बनाउन यस तालिम सहयोगीसिद्ध रहेको उल्लेख गर्नु भयो ।

रक्षामन्त्री राइले दीक्षित क्याडेट छात्रछात्राहरूलाई तालिमको दौरान हासिल गरेको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा आउन सक्ने विपद् लगायतका अनेकन् चुनौतीहरूको सहज रूपले सामना गर्न समाजमा आ-आफ्नो तर्फबाट भूमिका खेल्नु हुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गर्नु भयो ।

त्यस्तै,राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको थियो । समापन समारोहमा प्रधान सेनापति सिक्देलले विभिन्न भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवाहरूमा राष्ट्रियता,राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना मार्फत कर्तव्यनिष्ठ, देशभक्त र मातृभूमिप्रति समर्पित युवापुस्ता निर्माण गरी एउटै छानामुनि राख्न राष्ट्रिय सेवा दल तालिम फलदायी रहँदै आएको उल्लेख गर्नुभयो ।

प्रधान सेनापति सिक्देलले दीक्षित क्याडेट छात्रछात्राहरू निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली र देशभक्त नागरिकको रूपमा समग्र युवापिडिको मार्गनिर्देशकको रूपमा रही भावी पथप्रदर्शक र वर्तमान युवाको प्रतिविम्बको रूपमा रहन सफल हुनेमा शुभकामना समेत व्यक्त गर्नु भयो ।

दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशकहरु,रथीबृन्द तथा अधिकृतहरू, स्थानीय निकायका प्रमुख/प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख/प्रतिनिधिहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कुल १०८० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । योसँगै यस वर्ष ७,७०४ जना क्याडेट छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।  

वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ८२,१८४ (बयासी हजार एक सय चौरासी) जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्