रास्वपाले अध्यादेश अस्वीकारको प्रस्ताव संसदमा दर्ता गराउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले हालै ल्याएको ६ वटा अध्यादेश अस्वीकारको प्रस्ताव संसद्मा दर्ता गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर गरेर सांसद पद निलम्बन गर्ने काम गरेको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।उनलाई निलम्बन गर्ने निर्णय रास्वपाले आपत्ति जनाउँदै आएको छ ।
‘उहाँको सांसद पद निलम्बन भएको छ। त्यो प्रतिनिधि सभाको नियमावली र संविधानसँग मिल्दैन। उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ। त्यो संविधानको विपरित छ। हामीले चाँडै न्याय पाउँछौं’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रमुख सचेतक परियारले भने।
त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादका क्रममा भएको झडपको भर्त्सना गर्दै पीडितहरूलाई न्याय दिन समेत माग गरेको छ ।

