तथ्य र तर्कका आधारमा जिम्मेवार ढंगले संसदमा प्रस्तुत हुन सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ।प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदको हिउँदे अधिबेशनमा अरुले गलत आरोप र भ्रम छरेमा तथ्य र तर्कका आधारमा रचनात्मक र सशक्त प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांसदहरुलाई त्यस्तो निर्देशन दिएका हुन्।उनले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने समेत बताए।
सहमतिअनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए। ओलीले भने, ‘लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरु प्रकारका अराजकताका बाटोबाट सरकार परिवर्तनको अपेक्षा सम्भव छैन।’
प्रधानमन्त्री ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको धारणा राखे। विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीको छ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश र विद्यमान कानुनमा गरिएको संशोधनको आवश्यकताबारे प्रकाश पारेका थिए।file foto