महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन बन्दै, अध्यक्ष कुलुङले गरे शिलान्यास
सोलुखुम्बु। जिल्लाको महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास गरिएको छ ।

गाउँपालिकाको केन्द्र बुङमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले कुलुङ परम्परा अनुसार मंगलबार सो प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो।
स्थानीय तह सञ्चालनमा आए यता गाउँपालिकाको कार्यालय रहेकै स्थानमा बन्ने आधुनिक भवन मौलिक बास्तुकलामा आधुनिक हिमालयन टिबेटियन आर्किटेक्चर डिजाइनमा निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरीधन राईले जानकारी दिनुभयो।

१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको चार तले सो भवन निर्माणको जिम्मेवारी कूल लागत रकम भ्याट तथा पिएस आइटमसहित रु ६ करोड ७४ लाखमा बीके एस के कन्ट्रक्सनले लिएको छ।भवन २८ कोठा र २ वटा हल सहितको हुनेछ।
कूल लागतमध्ये ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने र ६०प्रतिशत लागत रकम स्थानीय पूर्वाधार विभागलाई लागत सहभागिताको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले गुणस्तरीय ढंगले सम्झौता भन्दा अघि नै भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो।

