एकीकृत समाजबादीमा लागेका नेता कार्यकर्तालाई एमालेमा फर्कन महासचिव पोखरेलको आव्हान
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्वागत गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्।

शुक्रबार समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी,उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै बिगतमा गरेका गल्तीका कारण पनि नेपाललाई स्वागत गर्न नसकिने उनको भनाई थियो।अरुलाई भने स्वागत गर्न एमाले तयार रहेको उनले बताए। ‘दुर्घटनाको कारण चालक हुन्छ,सबै यात्री जिम्मेवार हुंदैनन्’- महासचिव पोखरेलले भने।
एमालेले ढोका खुला गरे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा अघि एमालेमा प्रवेश गर्ने दावी पनि उनले गरे।१५ वर्ष पार्टीको नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेको बताए । सोही कारण उनलाई एमालेले प्रवेशको ढोका बन्द गरेको उनको भनाइ छ ।
‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले) मा फर्किन म आह्वान गर्दछु’, पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नुभएको छ । अब उहाँले जति नै रोइकराइ गरे पनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्ने लहरलाई रोक्न सक्नुहुन्न ।’