वाइल्डलाइफ फोटोग्राफर शेर्पाको टेकुमा अन्त्येष्टि
केदार बस्नेत, काठमाडौं। नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता चुङ्बा शेर्पाको बौद्ध धर्मको परम्पराअनुसार टेकु दोभानमा अन्त्येष्टि गरिएको छ।शेर्पाको सोमवार राति ग्रान्डी अस्पतालमा उपचारको क्रममा ६४ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली कांग्रेस खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सभापति समेत रहेका शेर्पाको कलेजोसमन्धी समस्याका कारण निधन भएको थियो।
शेर्पाको पार्थिव शरीरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा,केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा, फोटो पत्रकारहरूका संघ,संगठन,पर्वतारोहीलगायत अन्य सरोकारवालाहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
शेर्पा स्थानीय निर्वाचन २०७४ र ७९ मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार भएपनि दुवैपटक पराजित भएका थिए।शेर्पा साबिक चौरीखर्क गाउँ विकास समितिको पुर्व अध्यक्ष समेत हुन् ।खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा वाइल्डलाइफ फोटोग्राफीमा केहिवर्ष यता सक्रिय थिए।
शेर्पाको निधनको खबर सम्प्रेषण हुन साथ महामन्त्री थापाले दु:ख व्यक्त गरेका थिए।सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटर्स पोष्ट गर्दै थापाले शेर्पाप्रति श्रद्धा सुमन अर्पण गरेका थिए।यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले पनि शेर्पाको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापति नाम्गेल जाङ्बु शेर्पाले पनि शेर्पाको निधनप्रति दु:ख व्यक्त थिए।यस्तै नेपाली कांग्रेस प्रदेश सभा(क)ले पनि दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो।
सभापति धनजन राई सचिवद्वय विजय गुरुङ र हेमराज भट्टराईद्वारा हस्ताक्षरित शोक सन्देशमा भनिएको छ-‘उहाँको निधनले नेपाली कांग्रेस पार्टीलाई साथै सोलुखुम्बुकै एक सक्रिय नेता र प्रेरणादायी व्यक्तित्व गुमाउनु परेकाले पार्टीलाई अपुरणीय क्षती भएको महसुस भएको छ।’यस दु:खद घडीमा दिवङ्त आत्माको चिर शान्तिको लागि कामना गर्दै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं”-सन्देशमा उल्लेख छ।
यसैगरी,नेपाली कांग्रेस प्रदेश (ख) का सभापति कर्मा शेर्पाले पनि शेर्पाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै गहिरो दु:ख व्यक्त गरेका छन्।

