ग्याल्पो ल्होसारका अवसरमा शेर्पा संघ दक्षिण कोरियाले जनवरी २९ मा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने



दावा जाङबु शेर्पा,काठमाडौं।कोरियाको महान् चाड तथा नयाँ वर्ष सलनालसँगै शेर्पा संघ दक्षिण कोरियाद्वारा नेपालीहरूको राष्ट्रिय चाड तथा हिमाली बौद्धमार्गीहरूको राष्ट्रिय महान चाड २१५२ औं स्यिङ मो डुल् लो ग्याल्पो ल्होसार सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

‘शेर्पा समुदायको माैलिक भाषा धर्म र संस्कृतिलाई संवर्द्दन तथा प्रवर्द्दन गराैं समाजिक मुल्य र मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गराै’ भन्ने नाराका साथ सो कार्यक्रम मनाउन लागिएको अध्यक्ष दोर्ची शेर्पाले जानकारी दिनुभयो।

ल्होसारको तिथि फ्रेब्रुवरी २५ मा भएपनि यहाँ जनवरी २९ मा कोरियन नयाँ बर्ष सलनालको बिदा भएकोले यसै मितिमा मनाउने उनले बताए। ल्होसार कार्यक्रम स्थान दक्षिण कोरियाको राजधानी सौलस्थित जोङगाक स्टेसनको ७ नम्बर गेटबाट १५ मिटर अगाडि रहेको पानोरामा बुफेमा रहेको उनले जानकारी दिए।

ल्होसारको सांगीतिक कार्यक्रममा श्याब्रु नाच र शुभकामना आदानप्रदान र डिजे एपी तेन्जिङ शेर्पा लगायत अन्य स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

भाषा,संस्कृति,कलाको संरक्षण,संस्कार र परम्परागत मान्यतालाई निरन्तरता दिने हेतुले बार्षिक रुपमा आयोजना गरिने ल्होसार विशेष कार्यक्रमलाई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका नेपालीहरुले विशेष चाडकै रुपमा सदुपयोग गर्ने गरेका छन् ।

आपसी भाइचारा,भातृत्वको माध्यमबाट विदेशमा रहेका शेर्पा र आम नेपालीहरुवीच भावनात्मक निकटताका लागि कार्यक्रमले विशेष भूमिका निर्वाह गर्ने आयोजक संस्थाका महासचिव दोर्जी शेर्पा दोर्जेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्