रोमानियामा काग्यु बुद्धिस्ट एसोसिएसनको स्थापना
दावा जाङ्बु शेर्पा,रोमानियाको राजधानी बुखारेस्टमा काग्यु बुद्धिस्ट एसोसिएसनको स्थापना भएको छ।रोमानियामा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै बौद्ध धर्म,संस्कृति,र मानवीय एकता प्रवर्द्धन गर्ने एसोसिएसनको उद्देश्य रहेको बताइएको छ।

एसोसिएसनद्वारा आज आयोजना गरिएको विशेष छलफल कार्यक्रममा रोमानियाका विभिन्न नेपाली समुदायका संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शेर्पा किदुग रोमानिया,नेपाल तामाङ घेदुङ रोमानिया,नेपाल किराँत समावेशी समाज रोमानिया, तमु समाज रोमानिया र नेपाल मगर संघ रोमानियाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य रोमानियामा रहेका विविध समुदायहरूबीच आपसी सहकार्य र बौद्ध दर्शनको प्रवर्द्धन गर्नु रहेको बताइएको छ। छलफलको क्रममा सहभागीताले धार्मिक सहिष्णुता,सांस्कृतिक आदान–प्रदान र सामुदायिक एकताका विषयमा आफ्नो धारणा प्रस्तुत गरे।
शेर्पा किदुग रोमानियाका प्रतिनिधिले बौद्ध धर्मलाई विश्वभर फैलाउन र नयाँ पुस्तामा यसको प्रभावकारी जानकारी पुर्याउन महत्वपूर्ण पहलको आवश्यकता रहेको उल्लेख गरे। नेपाल तामाङ घेदुङका प्रतिनिधिले सांस्कृतिक जरा बचाउन र प्रवासी नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्न एसोसिएसनको भूमिकाको प्रशंसा गरे। नेपाल मगर संघका प्रतिनिधिले पनि यस्ता पहलले प्रवासी नेपालीहरूको पहिचानलाई बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बौद्ध धर्मसँग सम्बन्धित विविध सत्रहरू र आगामी योजनाहरूको छलफल समेत गरिएको थियो। सहभागीहरूले रोमानियामा रहेका सबै नेपाली समुदायलाई एकतामा बाँध्न र समृद्ध समाज निर्माणमा योगदान दिने उद्देश्य राखिएको बताए।
काग्यु बुद्धिस्ट एसोसिएसनले आगामी दिनमा सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू आयोजना गर्ने, समुदायका आवश्यकताहरू पहिचान गर्ने र बौद्ध अध्ययन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।
कार्यक्रमको समापनमा सहभागी सबैले यस्ता पहलकदमीले रोमानियामा रहेका नेपाली समुदायहरूलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे। एसोसिएसनले आगामी दिनहरूमा थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएको छ।

