माओवादी छाडेर एमालेमा प्रवेश गरे विराटनगरका पुराना वाम बुद्धिजीवी शर्मा
काठमाडौँ । विराटनगरका पुराना वाम बुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्माले नेकपा माओवादी केन्द्र छाडेका छन्।विराटनगरमा जारी नेकपा एमालेको पाँचौँ विस्तारित बैठकका अवसरमा शर्मा माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्।

विराटनगरस्थित पोस्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन्।नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका शर्माले माओवादी विघटनको संघारमा रहेको दाबी गरे।
उनलाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोसी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोसी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीसहितको उपस्थितिमा एमालेमा स्वागत गरिएको हो।
एमाले कोसी प्रदेशको पाँचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्ने गरी तीन महिना जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ।
माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्ने गरी पार्टी कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव भएको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोसी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीम ज्वाला राईले जानकारी दिए।
राइका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामबारे विराटनगरमै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।अभिमुखीकरणमा प्रदेशमा रहेका केन्द्रीय नेता, प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी र जनसंगठनका केन्द्रीय पदाधिकारी सहभागी हुने राईले जानकारी गराए।