पूर्बविद्यार्थी डा.बास्तोलालाई श्री हिमाल दर्शन माबिको सम्मान
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु । नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयले पूर्ब विद्यार्थी डा. थोमस बास्तोलालाई सम्मानित गरेको छ ।

विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीमध्ये सबैभन्दा पहिले विद्यावारिधि (पीएचडी) गर्न सफल भएको भन्दै पूर्ब विद्यार्थी डा. बास्तोलालाई शुक्रबार बिशेष कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो। कक्षा ८ देखि १० सम्म सो विद्यालयमा अध्ययन गरेका बास्तोलाले ०५१ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालप्रसाद बास्तोला र हेमन्तकुमार सिंहले बास्तोलालाई सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सम्मानित ब्यक्तित्व डा. बास्तोलाले निश्चित संकल्पका साथ अघि बढेको खण्डमा सफलता प्राप्त गर्न सकिने बताएका थिए।
सदरमुकाम सल्लेरीमा आयोजना भएको बक्तृत्वकलामा पुरस्कृत भएपछि प्राप्त गरेको पैसाले आफुले कक्षा १० मा पढ्दा पहिलो पटक जुत्ता किनेर लगाएको स्मरण गर्दै उनले भने-‘अहिले कुनै पनि विद्यार्थीको त्यस किसिमको अवस्था छैन।समय परिवर्तन भएको छ । परिवर्तित परिवेशमा प्रतिस्पर्धाबाट उत्कृष्टता हासिल गर्न सक्ने गरी आफूलाई तयार पार्नु पर्छ ।’
विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश बाहिङले सञ्चालन गर्नुभएको सो कार्यक्रममा आ-आफ्नो धारणा व्यक्त गर्दै शिक्षक प्रेम कुमार कटेल,प्रधानाध्यापक लाल प्रसाद बास्तोला र कार्यक्रमका सभापति समेत रहेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाले निकै संघर्षपूर्ण अवस्थाबाट अमेरिका जस्तो विकसित देशको साउदर्न इलिनोई बिश्वविद्यालयबाट अर्थशास्त्र बिषयमा विद्यावारिधि (पीएचडी) गरेर विद्यालयको गरिमालाई उच्च बनाएको भन्दै डा. बास्तोला सम्पूर्ण विद्यार्थीहरुको प्रेरणाको श्रोत बनेको बताएका थिए।
कार्यक्रमपछि डा. बास्तोलाले हिमाल दर्शन माबिको स्वर्ण महोत्सवलाई सम्पन्न गर्न सहयोग स्वरुप अमेरिकामा रहेका सो विद्यालयका ८ जना विद्यार्थीहरुबाट संकलित १ लाख ५८ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका थिए।



