रिहा भए पछि प्रसाईं भन्छन् – ‘अन्ततः सत्यको जित भएको छ’
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा भएका छन्। व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं शुक्रवार सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीशहरू नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले न्यायलय आज पनि पबित्र रहेको प्रतिक्रिया व्यक्त गरेका छन्,उनले भनेका छन्- ‘राज्यका कुनै निकायप्रति विश्वास उडेको होला, तर न्यायलय आज पनि पबित्र छ । राज्यका अनेकन बेथीतीको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्यो, नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्यो, अन्ततः सत्यको जित भएको छ । सर्वोच्च अदालतको आदेशले आज रिहा भएको छु । यो बिचमा सहयोग सद्भाव व्यक्त गर्ने, आदरणीय बिभिन्न दलका नेता गण, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, शुभेच्छुक लगायत न्यायप्रेमी सबै आमाबुवा, दाजुभाई, दिदिबहिनी सबैलाई हृदयदेखी धन्यवाद ! उहिँ उत्साह, उस्तै उमंग उस्तै शाहसका साथ तपाईको प्यारो दुर्गा प्रसाई मैदानमा खडा हुनेछ । बाँकी बिस्तारै बताउने छु । हार्दिक धन्यवाद !’
file foto

