स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं।स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ।सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको हो।

सभालाई सम्बोधन गर्दै बैंककी अध्यक्ष जरिन दारूवालाले भनिन्, ‘नेपालमा सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा यहाँको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा हामी खुशी छौं।’
प्रभावकारी रूपमा सञ्चालन हुन सकेकै कारण बैंकको सेयरमा प्रतिफल (रिटर्न अन इक्विटी) यो क्षेत्रकै उच्च (१९ प्रतिशत) रहेको समेत उनले उल्लेख गरिन्।
आर्थिक वर्ष २०८०/८१ मा बैंकको सञ्चालन नाफा चार अर्ब ७० करोड रूपैयाँ थियो। बैंकको खुद मुनाफा तीन अर्ब ३० करोड रूपैयाँ थियो भने प्रतिसेयर आम्दानी ३४ रूपैयाँ ७० पैसा थियो।
बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूहको ७०।२१ प्रतिशत र सर्वसाधारणको २९।७९ प्रतिशत सेयर स्वामित्व छ।

