मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, टोली ८७ सदस्यीय हुने



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री ओलीको चीन भ्रमण ८७ सदस्यीय हुने एक मन्त्रीले बताए। उनका अनुसार सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन जानेछन्। बैठकले प्रधानमन्त्रीको भ्रमणको एजेन्डाका विषयमा भने कुनै निर्णय नगरेको बताइएको छ। एजेन्डा तय गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन प्रस्थान गरेकी छन्।

मंसिर १५ गतेसम्म उनी चीनमै रहेर नेपाल र चीनबीच सम्झौता हुने एजेन्डा तय गर्नेछिन्। परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्