सोलुदुधकुण्डमा ‘शिक्षाका लागि छात्रवृत्ति’ परियोजना सञ्चालन गरिने, ७१ छात्रछात्रा लाभान्वित हुँदै
सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डमा’शिक्षाका लागि छात्रवृत्ति’ परियोजना सञ्चालन गरिने भएको छ।

सोलुदुधकुण्ड नगरपालिकामा बसोबास गर्ने गरिव,जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिने सो परियोजना नेपाल चिल्ड्रेन्स अर्गनाइजेशन काठमाडौंको सहयोगमा सञ्चालन गर्न लागिएको हो।सो सम्बन्धि सहमतिपत्रमा बिहिबार सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा र संस्थाका अध्यक्ष कान्छा नुर्बु शेर्पाले हस्ताक्षर गर्नुभएको नगरपालिकाले जनाएको छ ।
सहमति पत्रमा समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृति पश्चात विस्तृत परियोजना प्रस्ताव नगरपालिकाको कार्यालयमा अनिवार्य रुपमा पेश गर्ने र सम्बन्धित स्थानीय निकायसंग समन्वय गरी कार्यक्रम संचालन गरी नगरपालिकाको वार्षिक योजनामा समावेश गर्ने उल्लेख छ।
वैदेशिक सहयोगमा कार्यक्रम संचालन गर्ने गैर सरकारी संघ संस्थाले परियोजना प्रस्ताव साथ समावेश गर्ने पूर्व सहमति पत्रको प्रयोजनका लागि नगरपालिकासंग प्रारम्भिक सहमति गरिएको हो ।
आगामी पुष १७ गतेबाट सुरु हुने सो परियोजनाको अवधी पाँच बर्षसम्म रहने छ।१ करोड ७० लाख ६० हजार बजेट अनुमान गरिएको सो परियोजनाबाट नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा पढ्ने गरिव जेहेन्दार ७१ जना विद्यार्थीहरु लाभान्वित हुने नगरप्रमुख शेर्पाले बताउनुभयो।

