एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी
काठमाडौं।आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ ९क्यान० बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिईएको छ ।

व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो । यो एनपीएलको विशेषता भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागीता हो र अन्तर्राष्ट्रिय खेलकुद टिभी च्यानलमार्फत पनि यसको प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ, विशेष गरी जब यसले स्थानीय प्रादेशिक पहिचान बोकेको हुन्छ । यो प्रतियोगितामा सातै प्रदेशले आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धको कुरा हो ।
जाब्बोरले भने, “यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुशी छौं । यसले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो हामीमा रहेको खेलकुद क्षेत्र प्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो । क्रिकेट र खेलकुदप्रतिको हाम्रो प्रतिबद्धता प्रशंसनीय छ, र हामी खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छौ । यो सहकार्यले वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको भावना झल्काउँछ र नेपालको क्रिकेट यात्रामा एक महत्वपूर्ण उपलब्धि हो ।”
यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । यो सहकार्य संसारभर छरिएर रहेका नेपाली दर्शकहरूको खेलप्रतिको माया र समर्थनको भावना स्वीकार अवसर पनि हो, जसले हालैका विश्वव्यापी प्रतियोगिताहरूमा थुप्रै प्रशंसाहरु बटुलेका छन् ।
एनसेलले आफ्ना ग्राहककालागि लाइभ स्क्रिनिङ् मार्फत एनपीएलका खेलहरु आफु जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकहरुकालागि विभिन्न योजनाहरु पनि ल्याउनेछ ।
मंसिर १५ गते देखि पौष ६ गते सम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमहरूले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख शहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।

