सोलुदुधकुण्ड नगरपालिकाको तिङ्लामा सुबिधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गरिने



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ११ तिङ्लामा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ।करिब २.५ करोडको लागतमा निर्माण सम्पन्न हुने सुबिधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणका लागि पाहिला पाहिलाको आशा फ्रान्स (PPKAF) ले रु.५० लाख रुपैंया आर्थिक सहयता उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

मंगलबार सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा र र पाहिला पाहिलाको आशा फ्रान्स (PPKAF) का अध्यक्ष पासाङ काजी शेर्पाले सो सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर कार्यक्रममा बोल्नु हुँदै PPKAF का अध्यक्ष शेर्पाले सोलुदुधकुण्ड नगरपालिकासँगको सहकार्यमा स्वास्थ्य चौकी निर्माणका हाललाई रु ५० लाख रुपैयाँ आर्थिक सहयता गर्न प्रतिबद्धता जनाए तापनि यसमा थप रकम समेत उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

पाहिला पाहिलाको आशा फ्रान्स (PPKAF) ले गरेको यस पुण्य कार्यप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य हुने विश्वास नगर प्रमुख शेर्पाले त्यस अवसरमा व्यक्त गर्नुभएको थियो। पाहिला पाहिलाको आशा फ्रान्स (PPKAF)कै सहयोगमा तिङ्लामा थेरापी सेण्टर निर्माणाधीन अवस्थामा रहेको र कोभिड-१९ को महामारीका बेला नफरबासी तथा विपद प्रभावित खुम्बुका थामेबासीहरुलाई पुर्‍याएको सहयोगको स्मरण गर्दै नगर प्रमुख शेर्पाले त्यसका लागि आभार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नगर उपप्रमुख गान्धीमाया तामाङ, प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पा,वडा नं. ११ का वडाध्यक्ष टंक बहादुर कार्की र वडा सदस्यहरु, वडा नं.७ र १० का वडाध्यक्ष क्रमशःसोनाम ग्याल्जेन शेर्पा र होमबहादुर मगर, कार्यपालिका सदस्य निरकुमार नेपाली तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्का, पत्रकार महासंघका अध्यक्ष नुतन श्रेष्ठ र क्रियशन नेपालका अनुज खड्काको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्