पहिरोमा परी ५ जनाले ज्यान गुमाउनुपरेको घटनाप्रति नगर प्रमुख शेर्पाद्वारा दु:ख व्यक्त
सोलुखुम्बु।सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले अबिरल बर्षाका कारण आएको पहिरोमा परी नगरपालिकाको वडा नम्बर ९ गोराखानीमा ३ र वडा नम्बर १० टाप्टिङमा २ जना गरी जम्मा ५ जना नागरिकको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गर्दै सम्भावित जोखिमबाट बच्न अझै आवश्यक सतर्कता अपनाउन नगरबासीहरुमा अपिल गर्नुभएको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहनुभएका नगरप्रमुख शेर्पाले शनिबार सांझ एक प्रेस बिज्ञप्ति प्रकाशित गरी बिपदमा परी ज्यान गुमाउने पाँचै जनाका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै मृतकहरुको पोष्टमार्टम कार्यको सहजताको लागि जिल्ला अस्पताल फाप्लु र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सहकार्यमा आइतबार वोड्छु मेमोरियल नगर अस्पताल टाप्टिङमा गर्ने गरि व्यवस्था मिलाइएको जानकारी पनि गराउनुभएको छ ।
नगर प्रमुख शेर्पाले अझै पनि नगरपालिकाको विभिन्न ठाउँमा घर, सडक लगायतको पुर्वाधार भत्किएर ठूलो मात्रामा भौतिक सम्पतिको क्षति भईरहेको उल्लेख गर्दै आपतकालीन अवस्थाको लागि नगरपालिकाको एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राखिएको बताउनुभएको छ।
नगरपालिका क्षेत्रमा उद्दार कार्य तथा थप सम्भावित क्षती हुन नदिनको लागि नगर प्रहरीको परिचालन गर्नुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसंग सहकार्य गरिएको पनि बिज्ञप्तिमा जनाईएको छ।
नगर प्रमुख शेर्पाले यस अवस्थामा मौसममा पुर्ण रुपमा सुधार नभएसम्म यात्रा नगर्न पनि नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।
file foto

