छठपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलनको तयारीमा राप्रपा
काठमाडौं ।पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।

आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरुले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरी आन्दोलन गर्ने बताएका हुन् ।राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दाहरुलाई स्थापतिन गराउन छठपछि काठमाडौंमा सातदेखि दशदिनसम्म निरन्तर आन्दोलन गर्ने बताए ।
उनले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान विचार भएकाहरुलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिए ।आन्दोलनको भावी रणनीतिबारे प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री राणाले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ।’
साथै उनले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको बताए । एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गरे।आन्दोलनलाई निष्कर्षमा नपुराएसम्म आफ्नो मुद्दाहरु स्थापित हुन नसक्ने भएकाले अबको आन्दोलन निर्णायक हुने उनको भनाइ छ ।

