प्रकाश तामाङलाई सहयोग गर्न होडबाजी



काठमाडौं । हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई सहयोग गर्न यतिबेला होडबाजी नै चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेर नागरिकता बनाउन पहल गरेका तामाङको पुनस्थापनाका लागि सहयोग गर्नेहरुको होडबाजी नै चलेको छ।

कतिपयले उनको सहयोगका लागि भन्दै आर्थिक संकलन अभियान सुरु गरेका छन् भने कसैले उनका लागि घर बनाईदिने घोषणा गरेका छन्।यही मेसोमा कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताए ।कोशी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेसा गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले जानकारी दिए ।

सङ्घीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुने बित्तिकै प्रकाशलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए ।

तामाङ १० वर्षको उमेरमा काठमाडौंबाट हराएका थिए । त्यसयता उनी गोरखाको चुम भ्यालीमा एक शेर्पाको बस्दै आएका थिए तर, उनले परिवार खोज्न सकेका थिएनन्।पत्रकार विद्या चापागाईँले गोरखाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको हो ।

यसैबीच,नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटी,भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ ।माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो ।

त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमिलाई राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ ।घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमा राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

यसअघि प्रकाश तामाङको परिवारसँग भेटघाट गरिएको नगर पार्टी अध्यक्ष एङराज राईले जानकारी दिए । उनका अनुसार घर निर्माण गरेर दशैंअगाडि नै हस्तान्तरण गर्नेगरी काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्