जनप्रगतिशील मञ्च पोर्चुगलका अध्यक्ष सुबेदी निष्कासित,संयोजकमा घिमिरे

पोर्चुगल । सङ्गठनको हित विपरीतका क्रियाकलाप गर्दै एकलौटी ढङ्गबाट अघि बढेको भन्दै जनप्रगतिशील मञ्च पोर्चुगलका अध्यक्ष सीता ढकाल सुबेदीलाई मञ्चको अध्यक्षसंगै साधारण सदस्यबाट समेत निस्कासित गरिएको छ।

अगस्ट २५ मा बसेको कार्य समितिको बैठकद्वारा गत फेब्रुअरीमा सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सुबेदीलाई कार्यसमितिको दुई तिहाइ बहुमतले साधारण सदस्य समेत नरहने गरि निष्कासित गरेको हो।
बैठकले सङ्गठनको विशेष अधिवेशन ६ महिना भित्र गर्ने गरी देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ । जसमा सदस्यहरूमा रेशम बस्नेत, अनन्त तिवारी, दुर्गा पौडेल, सरिता शर्मा, युवराज खनाल, बुद्धि बरालीलगायत रहेका छन् ।
बैठकले तत्काल समितिको बैठक बसी सङ्गठन बिस्तारका कार्यक्रमहरू सार्वजनिक गर्ने निर्णय गरेको छ। मञ्चका वरिष्ठ उपाध्यक्ष रेशम बस्नेतको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव गोविन्द अधिकारीले गरेका थिए ।
निलम्बित अध्यक्ष ढकालमाथि मञ्चमा अराजकता सृजना गरेको, समितिका सदस्यहरुलाई गाली गलौज गरेको,सङ्गठनको गोपनीयता भङ्ग गरेको,आफू मञ्चको संयोजक हुँदादेखि समर्थक शुभेच्छुकहरूबाट संकलित आर्थिक हरहिसाब सङ्गठनमा पेस नगरी आर्थिक अपचलन गरेको लगायतका आरोप लगाईएको छ।

