रबिलाई मुकुलको स्पष्टीकरण : ‘रास्वपालाई तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट मुक्त गराएरै छाड्छु।’
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्।

लामिछानेलाई ठग,भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधीका रुपमा प्रमाणित गर्न सक्ने दाबी पनि उनलेे गरेका छन्।पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ पेस गर्दै शुक्रबार सामाजिक सञ्जालमार्फत ढकालले भनेका छन्- ‘राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’
यस्तो छ ढकालले दिएको स्पष्टीकरणको पूर्णपाठ:
महोदय,
उपरोक्त सम्बन्धमा मलाई “पुनः स्पष्टीकरण पेश गर्ने वारे” विषयमा प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ गते कविन्द्र बुर्लाकोटी हस्ताक्षरित पत्र प्राप्त भएकोमा मैले मिति २०८१/०४/२८ मा तपाईं रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु भयो। साथै मिति २०८१/०४/३१ गते तपाई रवि लामिछानेलाई सम्बोधन गरी मैले मलाई गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग गरिएको मिति २०८१/०४/२८ मा लेखिएको पत्रका वारेमा स्मरण गराएको थिएं। मेरो माग बमोजिम प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनको सट्टा यसरी फेरी स्पष्टीकरण सोध्नाले तपाईले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरडुश शासन चलाइरहेको स्पष्ट हुन्छ। मेरो माग बमोजिम कागजात उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछु ।
मैले प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ को पत्रमा भनिए अनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन । बरु पार्टी जोगाउन म लडिरहेको छु। आज पार्टीलाई तपाई रवि लामिछानेको निरङ्कुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचवाट जोगाउन लागिपरेको छु। तपाई उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु होइन। प्रश्नका माध्यमवाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो। तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु। सहकारी मुद्दामा तपाई ६-८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाई कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न। यी संगै अन्य धेरै ठाउँमा किर्ते ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाई दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ। आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लत्रै छ र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो। आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारवाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ। आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।
हामीले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका थियौ तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको छ। तर नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र तपाईको निरडुशतासँग हार्दैन। सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन। उल्टै भ्रष्ट्राचारमा लिप्त हुनु भयो। तपाईजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन। यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी बिपरीत म होइन तपाई लाग्नु भएको छ ।
पार्टीलाई स्वार्थको झुन्डवाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाईले पार्टीको हित विपरीत भन्नु सरासर गलत हो। किनकि मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु। पार्टीको प्रस्तावनामा नै रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी रहेको उल्लेख छ। अध्ययन गर्ने वानी त तपाईमा छैन, तर पनि बहुलवादी लोकतान्त्रिक पार्टी भनेको के हो, विश्वव्यापी मान्यता के छन्, अध्ययन गर्नुहोस्। नेपालको संविधानले नेपाललाई बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको देशको रूपमा चित्रण गरेको छ, र संविधानले नै पार्टीहरू लोकतान्त्रिक हुन पर्ने उल्लेख गरेको छ। प्रश्न सोध्दैमा कारवाही गर्न न संविधानले दिन्छ, न देशको नियम कानुनले । तपाईले चाहेर पनि लोकतन्त्रमाथि प्रहार गर्न सक्नुहुन्न। बहुमततन्त्र र लोकतन्त्रमा फरक छ र मैले नेपालको संविधान, पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर तपाईलाई प्रश्न गरेको हुँ र यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लङ्घन गर्दैन। यसलाई विषयान्तरको रूपमा नबुझियोस् यो त तपाई जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाई हो। यसर्थ ममाथिको गरिएको भनिएको र गरिने भनिएको कारबाही पार्टीको विधान, नियमावली, कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निर्णय बर्खिलाप छ, साथै नेपालको संविधान र विश्वव्यापिरूपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन् ।


