बंगलादेशमा विद्युत् निर्यातका लागि सरकारले उपयुक्त कदम चाल्छ : प्रधानमन्त्री



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने बताएका छन् ।

बिहीबार रोस्टममा उभिएर प्रधानमन्त्री ओलीले बंगलादेशमा भर्खरै अन्तरिम सरकार बनेको र सम्झौता अनुरूप विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने बताएका हुन् ।

उनले नेपाल र बंगलादेशबिचको ऊर्जा निर्यातमा सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

बंगलादेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम पश्चात् नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्न परराष्ट्र र ऊर्जा मन्त्रालयबाट उपयुक्त सम्झौता सम्पन्न गर्न पहल भइरहेको सरकारले जानकारी दिएको छ ।

विद्युत बक्यौताबारे भैइरहेको बहसको सन्दर्भमा जवाफ दिंदै प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने स्पष्ट पनि पारेका छन् ।“बक्यौता उठाइन्छ, छोडिंदैन, तर उद्योग बन्न गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गरे ।

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले भने, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”

प्रतिक्रिया दिनुहोस्