रास्वपा सांसद स्वर्णिम वाग्लेले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरीत एमाले सांसद पन्तको आरोप
काठमाडौं।नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले सांसद वाग्लेको भनाइले स्पष्ट रूपमा देश विरोधी सार तत्त्वलाई बोकेको भन्दै यो नेपालले दिँदै आएको परराष्ट्र नीति,नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरीत रहेको बताए ।
उनले भने,‘आज एक जना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लज्जास्पद र खेदजनक छ । यस्तो कुराका आलोचना गर्नुपर्छ । रास्वपाका सांसद स्वर्णिम जी के भन्नु हुन्छ भन्दा म भारतीय मेरो अधिकारीहरूसँग भारत जाँदा भेट भएको थियो । विभिन्न भएको थियो ? अनि भन्नु हुन्छ हामीले भारतीय कुरा बुझ्नु पर्छ । उहाँको भनाई नेपालले दिँदै आएको परराष्ट्र नीति, असंलग्न परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ताको विपरीत छ । स्पष्ट रूपमा यसले देश विरोधी सार तत्त्वलाई बोकेको छ । यसले नेपालमा नेपालका देशभक्तहरूको अपमान गरेको छ ।’
यस्तै, सांसद वाग्लेको अभिव्यक्तिमाथि नेपालको संसद्ले अध्ययन गर्नुपर्ने पनि उनको भनाई छ ।
उनले भने, ‘यसमाथि नेपालको संसद्ले अध्ययन गर्नुपर्छ । आफू सरहको एक सांसदबाट देशलाई अहित हुने कुरा, घुमाएर नेपाललाई भुटान बनाउने जबकि भुटान नै चीनसँग सम्बन्ध बनाउन खोज्दै छ ।’

