नागरिक उड्डयन प्राधिकरणको कामकाजप्रति प्रतिनिधिसभामा उठ्यो प्रश्न



काठमाडौँ।नागरिक उड्डयन प्राधिकरणमा चरम भ्रष्टाचार रहेको भन्दै सरकारको नाममा रुलिङ गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्ताधारी दल कांग्रेस र एमालेका सांसदहरूले नै यस्तो माग गरेका हुन्।

कांग्रेस सांसद राजेन्द्र बजगाईँले पोखरा विमानस्थल होचो बनाएर डाँडा भत्काउन ठेक्का लगाएर भ्रष्टाचार गरेको भन्दै उनले अहिलेका नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रदीप अधिकारी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका थिए।

पोखरा विमानस्थलमा उडान र अवतरण गर्न गाह्रो हुने भन्दै पोखराको रिट्ठेपानी डाँडा होचो बनाइएको थियो। बजगाईँले पटक पटक सभामुखलाई सरकारको नाममा रुलिङ गर्न माग गरेका थिए।

एमाले सांसद सुनिता बराल हवाई क्षेत्र नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणको कामकाजमाथि शङ्का गरेकी थिइन्। हालै भएको शौर्य एयरको विमान दुर्घटनामा गम्भीर त्रुटि देखिएको भन्दै यसबारे विस्तृत अध्ययन र अनुसन्धान हुनुपर्ने उनले माग गरेकी थिइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनको दायरामा आउनेहरू नै सरकारको छानबिन समितिमा रहेको  बताएका छन्।

जहाज दुर्घटनामा गम्भीर त्रुटि भएको विषय सार्वजनिक भइरहेको भन्दै उनले सौर्य  विमान  पोखरा उड्न उपयुक्त थियो की  थिएन भन्ने विषय जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख नै अनुसन्धानको पहिलो  दायरामा आउने भन्दै उनले उनकै भिनाजुलाई अहिले छानबिन आयोगको प्रमुख बनाइएको बताए।

उनले  पटक-पटक एउटै मान्छेलाई छानबिनको जिम्मा दिएर सरकार मौन रहेको  भन्दै ध्यानाकर्षण गराएका थिए।

सरकारले सो दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

मर्मतका लागि पोखरा जान त्रिभुवन विमानस्थलबाट उडे लगत्तै दुर्घटनामा पर्दा चालक दलसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो। १८ मध्ये एक विदेशी नागरिक बाहेक अन्यको परिवारले शव बुझिसकेका छन्। विमानका क्याप्टेन उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्