मृत्युदण्डबाट बचेर दुबईबाट घर फर्किए ओखलढुंगाका श्रेष्ठ
काठमाडौं।संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगा चिशंखुगढी-३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन्।

साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनामा भुवन श्रेष्ठका साथै धादिङका पहलमान मगरलाई दुबईको एक अदालतले मृतक परिवारलाई ५० लाख ब्लड मनी नबुझाए मृत्युदण्ड दिने गरी सजाय सुनाएको थियो।
अदालतले सजाय निर्धारण गरेको सूचना पाएपछि नेपालमा उनीहरूलाई स्वदेश फर्काउन अभियान चलाइएको थियो।ब्लडमनी तिरेपछि मृत्युदण्ड सजाय पाएका दुवै जना सजायबाट मुक्त भएका छन्। श्रेष्ठ स्वेदश फर्केका छन् भने मगर यसै साता फर्किने तयारीमा छन्।
श्रेष्ठलाई स्वागत गर्न पुगेका ओखलढुंगाका सांसद रामहरि खतिवडाले भने, ‘भुवन श्रेष्ठ र पहलमान मगरको बचाउ अभियानमा जोडिएका सबै राम्रा मनहरूमा हार्दिक बधाई। भुवन श्रेष्ठ नेपाल आइसक्नुभएको छ र धादिङका पहलमान मगर पासपोर्टको केही कामहरू बाँकी रहेकाले १/२ दिनमा नेपाल आइपुग्नुहुन्छ भनेर दूतावासले जानकारी गराएको छ।’

