सौर्य एयर दुर्घटना : मन्त्रीपरिषद् बैठकद्वारा पाँच सदस्यीय आयोग गठन,भोलि राष्ट्रिय झण्डा आधा झुकाईने
काठमाडौँ। सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँका अनुसार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल रहनुभएको छ ।
बैठकले दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न गैरसैनिक हवाई उडान, २०७१ को नियम १० बमोजिम रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जहाज आयोग गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले २०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताउँदै उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवङ्गत हुने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ ।
आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीलाई हवाई जहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण सोको अनुगमन गर्ने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो। [फाईल फोटो]

