काठमाडौं महानगरले सार्बजनिक गर्यो कक्षा ११ का लागि छात्रवृत्तिको नतिजा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्ष कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित गरेको छ। ८ हजार १ सय ९७ जना विद्यार्थीले छात्रवृत्ति परीक्षामा उत्तीर्ण गरेका छन्।

महानगरले चालु शैक्षिक सत्रका लागि २०८१ साल साउन ४ गते शुक्रबार सञ्चालन गरेको छात्रवृत्ति वितरण परीक्षाको नतिजा आज (मंगलबार) बिहान प्रकाशन गरेको हो। काठमडौँ महानगरका मेयर बालेन शाहले नतिजा प्रकाशन गरिएको जानकारी दिँदै कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई दोस्रो वर्ष पनि निरन्तरता दिएको बताएका छन्।
उनले परीक्षामा उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा एसईईको जीपीए, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी र सामान्यज्ञानमा प्राप्त गरेको अङ्कको आधारमा नतिजा प्रकाशन गरिएको जनाएका छन्।
महानगरपालिकाका अनुसार विज्ञान विषयका लागि १ हजार ७५७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन्। यसका लागि आवेदकको संख्या ८ हजार ४९७ थियो। परीक्षामा ७ हजार ६६५ जना सहभागी भएका थिए। जसमध्ये ६ हजार ७२० जना उत्तीर्ण भएका छन्।
त्यसैगरी व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा महानगरले वितरण गर्दैछ। यसका लागि २ हजार ५८१ आवेदकमध्ये २ हजार ५८१ जनाले आवेदन दिएका थिए। त्यस मध्ये २ हजार ३२८ जनाले परीक्षा दिएका थिए। ती परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भएका छन्। यस विषयका २ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको महानगरले जनाएको छ।
त्यस्तै कानुन विषयमा महानगरको १३६ वटा छात्रवृत्ति कोटा छ। यस विषयका लागि १५३ जनाले आवेदन दिएका थिए। जसमध्ये १३२ जनाले परीक्षामा सहभागी भएकोमा ७३ जना उत्तीर्ण भएका छन्।
मानविकी विषय अध्ययनका लागि महानगरसँग १७३ वटा छात्रवृत्ति कोटा छ। यसका लागि १३ जनाले आवेदन दिएका थिए। आवेदकमध्ये ११ जनाले परीक्षा दिएकोमा ८ जना उत्तीर्ण भएका छन्। त्यसैगरी शिक्षा विषयका लागि महानगरसँग ७० वटा छात्रवृत्ति कोटा छ। यसका त्यसका लागि ३७ जनाले आवेदन दिएका र ३२ जनाले परीक्षा दिएका थिए। त्यसमध्ये १५ जना उत्तीर्ण भएका महानगरले जनाएको छ

