आज गुरु पूर्णिमा : शिक्षादीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाईंदै
काठमाडौं।आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा. देवमणि भट्टराईले बताए।
पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो। कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भनिने गरेको बताउँछन्।
कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको उल्लेख भएको बताइन्छ।
प्राचीन कालदेखि नै नेपालमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको मान्यता छ। विशेष गरी पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिने चलन रहेको छ।
त्यो आधुनिक कालमा पनि जारी रहेको देखिन्छ। अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए।
बौद्ध धर्म मान्नेहरूले पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन्। उनीहरूका मान्यतामा गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए।

