राजनीतिमा धोकाधडीको अन्त्य भएको प्रमाणित यसपटक गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धोकाधढीको राजनीति यस पटकबाट अन्त्य भएको प्रमाणित गर्नुपर्ने चुनौती नेताहरुमा रहेको बताउनुभएको छ।

जय नेपाल फाउन्डेसन सोलुखुम्बुले ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको ‘बीपी कोइराला र बर्तमान राजनीतिक अवस्था’ बिषयक अन्तरक्रिया तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर प्रवृत्ति र चकचकका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताउँदै सो कुरा बताउनुभएको हो।

फाउन्डेसनका अध्यक्ष नवीन थापाको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा थापाले भने अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर भएको ७ बुंदे सहमति कार्यान्वयन हुनेमा संसय रहेको बताउंदै भने-‘उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ। तर यो उहाँहरुले प्रमाणित गर्नुपर्छ। कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौँ। नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा,केन्द्रीय सदस्यहरु नैनसिंह महर,कुन्दनराज काफ्ले,फाउन्डेसनका केन्द्रीय अध्यक्ष वद्री अर्याल,नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्वु शेर्पा,प्रदेश अध्यक्ष बासु काेइराल,नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा,नेबिसंघका नेता मनोजमणि आचार्य,नेपाली कांग्रेस सोलुखुम्बुका पूर्बसभापति छत्रध्वज बस्नेत,नेपाली कांग्रेस सोलुखुम्बु’ख’का सभापति कर्मा शेर्पा,नेपाली कांग्रेस सोलुखुम्बु अनुशासन समिति संयोजक गणेश बस्नेत,महाधिवेशन प्रतिनिधि महेन्द्रदीप राई लगायतलेआआफ्नो धारण व्यक्त गर्नुभएको सो अन्तरक्रियामा सोलुखुम्बुबाट २०८० सालको परीक्षामा जिल्ला प्रथम,दोश्रो र तेश्रो हुन सफल विद्यार्थी र विद्यालयलाई सम्मान–पत्रसहित दोसल्लाले सम्मान गरिएको फाउण्डेसनका जिल्ला अध्यक्ष नविन थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार जिल्ला प्रथम खुम्जुङ माविका विव्यस अध्यक्ष लक्ष्मण अधिकारी र छात्र खाम्सु वाङ्डु शेर्पा, दोश्रो केदार मावि नेचासल्यानका विव्यस अध्यक्ष हेमराज शर्मा र छात्र रमन बाबु कट्टेल र तेश्रो गार्मा माविका विव्यस अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र छात्र फिन्जुङ शेर्पालाई कार्यक्रममा सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्