चौथो कार्यकालका लागि प्रधानमन्त्री ओलीले लिए सपथ
काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका छन्।

शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,झलनाथ खनाल र डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
राष्ट्रपतिले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। ओली यसअघि २०७२ असोज २५ गते, २०७४ फागुन ३ गते र २०७८ वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

