प्रधानमन्त्री दाहालले गुमाए बिश्वास : विपक्षमा १९४ मत,पक्षमा ६३ मात्रै



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन् ।

शुक्रवार भएको मत विभाजनमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक जना तटस्थ रहे । प्रचण्डको पक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले मात्र मतदान गरेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

नेपाली कांग्रेस, एमाले, राप्रपा लगायत दलले प्रचण्डको विपक्षमा मतदान गरे । त्यसअघि प्रतिनिधि सभामा प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव राख्दै सरकारले राम्रो काम गर्दा गर्दै सरकार ढालिएको आरोप लगाएका थिए । उनले संविधानको रक्षाका लागि आफूले संसदमा विश्वासको मत फेस गरेको दाबी गरेका थिए ।

एमालेको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका थिए । उनले यही कार्यकालमा यसअघि चारपटक विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्