कांग्रेसभित्र शंकर भण्डारी मन्त्री बन्ने चर्चा
ईशा अधिकारी,काठमाडौं।नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच समझदारी भइ संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ। प्रधानमन्त्री प्रचण्डले असार २८ मा संसदबाट बिस्वासको मत नपाउने निश्चित छ। त्यसपछि केपी ओली नेतृत्वमा सरकार बनाउने प्रक्रियाले मुर्तरुप लिनेछ । सरकारमा कुन कुन दल जाने र कुन कुन दलले कति र कुन मन्त्रालय लिने भन्ने बिषय टुंगो लागिसकेको छैन तर पनि काङ्ग्रेस र एमालेबाट सरकारमा सहभागी हुने नामबारे राजनीतिक बृत्तमा व्यापक चासो र चर्चाको बिषय बनेको छ।

नयाँ गठबन्धनका मुख्य साझेदार काङ्ग्रेस र एमालेको शीर्ष नेतृत्व यसको गृहकार्यमा जुटेको र सम्भावित नामहरु बारे बिमर्श थालिएको खबरहरु बाहिरिएका छन् । काङ्ग्रेस भित्र पनि विभिन्न नामको चर्चा छ । यस्तै एउटा नाम हो-काङ्ग्रेसका प्रभावशाली नेता,केन्द्रीय सदस्य,प्रतिनिधि सभा सदस्य,पुर्वमन्त्री शंकर भण्डारी ।
जनताको व्यक्तिगत वा सामाजिक काम,गुनासा र समस्या तत्काल समाधान,सम्बोधनको पहल गरिदिएर देशभर ” गर्ने र गर्न सक्ने ” छवि बनाउनु भएका शंकर भण्डारी जनताको बीचमा रमाउने र जनताका सुख दुःखमा हरहमेशा साथ दिने,अरु आम नेता भन्दा फरक सोच शैली व्यवहारका नेता हुनुहुन्छ ।
जनताले सोचे जस्तै,जनताले खोजे जस्तै आदर्श,सहयोगी,सरल र आत्मिय रुपमा जनताका घर दैलोमा उपलब्ध हुने,पार्टी संगठनलाई घर परिवार जस्तै सम्झने अत्यन्त थोरै नेताहरुमध्ये पर्नुहुन्छ-कांग्रेस नेता एबं पुर्वमन्त्री भण्डारी।
समाजको बिकास निर्माण सम्बन्धि काम होस् वा जनताका पारिवारिक व्यक्तिगत समस्या ! कसैले हारगुहार गरे पछि आफूले भनेर हुने,गरेर सक्ने जुनसुकै सहयोग गर्न हरहमेसा तयार हुने, हरेक पिरमर्का समस्या र गुनासाहरुको चलचित्रको नायकले जस्तै तत्काल समाधान,सम्बोधन गरिदिने-सम्बन्धित निकाय र अधिकारीलाई फोन गरिहाल्ने “एक्सन म्यान”को छवि बनाउनु भएका भण्डारी तनहुँमा मात्र होइन देश भरका सबै थरि कार्यकर्ताहरु माझ लोकप्रिय हुनुहुन्छ । देश र जनताका पक्षमा बोल्न सक्ने,लड्न सक्ने आँट,हौसला,क्षमता भएका नेताका रुपमा परिचित हुनुहुन्छ।
देशभरका काङ्ग्रेस र आम जनता भण्डारीलाई अब बन्न लागेको सरकारमा महत्त्वपूर्ण मन्त्रालय सहित मन्त्रीको भुमिकामा देख्न चाहन्छन् ।नेपाली कांग्रेस तरुण बिभाग प्रमुखको जिम्मेवारी समेत सम्हाली सक्नु भएका उहाँ देशभरका युवा तरुणहरुको उर्जा,आँट ,प्रेरणा,आदर्श र प्रिय हुनुहुन्छ ।
सरल,मिलनसार,बिना पक्षपात सबैको काम गर्ने,सबैलाई महत्त्व दिने,सबैका कुरा सुन्ने,सामुन्नेका हरेक समस्याको तत्काल समाधानका लागि पहल गरिहाल्ने,निडर हक्की स्वभाव,शैली, व्यवहारका कारण पार्टी पङ्क्ति भित्र मात्र होइन पार्टी बाहिर आम जनता सम्म लोकप्रियता कमाउनु भएका शंकर भण्डारी राष्ट्रिय राजनीतिमा समेत आफ्नो अलग पहिचान र उपस्थिति कायम गर्न सफल हुनुहुन्छ ।
२०७३ साउनमा प्रचण्ड नेतृत्वको संयुक्त सरकारमा ९ महिना जति बन तथा वातावरण मन्त्री रहनु भएका उहाँलाइ अत्यन्त कुशल र क्षमतावान् मन्त्री भनी तत्कालीन प्रधानमन्त्रीले सार्वजनिक समारोहमा प्रशंसा गर्नुभएको थियो । देशको उच्च राजनीतिक तहमा प्रभाव र पहुँच कायम भएका,अन्य विभिन्न राजनीतिक दलका उच्च नेतृत्वसंग समन्वय,समझदारी गर्न सक्ने,देशभर परिचित,मुलुकको राजनीति र राजनीतिले चिनेका,राम्रो प्रशासनिक,राजनीतिक सुझबुझ भएका,प्रष्ट वक्ता,निडर,साहसी,राष्ट्रवादी,लोकप्रिय र सक्षम छवि बनाएका प्रभावशाली नेताका रुपमा सिङ्गो देशले शंकर भण्डारीबाट बिशेष भुमिका,अपेक्षा र भरोसा खोजेको पाइन्छ।
बिद्यार्थी राजनीतिदेखि नै चर्चित बिद्यार्थी नेताका रुपमा देशभर चिनिएका शंकर भण्डारी कांग्रेस भित्र तीन पटक निर्वाचित केन्द्रीय सदस्य,दोस्रो संविधानसभामा निर्वाचित सांसद र केन्द्रीय मन्त्री समेत भइसकेका लोकप्रिय,प्रभावशाली नेताको रुपमा स्थापित हुनुहुन्छ । मुलुकको राजनीति,कुटनीति,शासन,प्रशासन बुझेका,पार्टी भित्र बाहिर समन्वय,समझदारी कायम गर्न सक्ने,सबै राजनीतिक दलका नेताहरुसंग राम्रो सम्बन्ध भएका राष्ट्रिय राजनीतिमा अलग पहिचान बनाएका इमानदार र वजनदार नेताका रुपमा पनि उहाँको छवि बनेको छ ।
जनता,कार्यकर्ता र पार्टीको काममा निरन्तर लागिरहने,देशका कुना कुना घुमेर पार्टीका साथी र जनता संग घुलमिल हुने स्वभाव अनि आग्रह पुर्वाग्रहरहित सरलता,प्रष्टवादिता र सहयोगी व्यवहारका कारण पार्टी कार्यकर्ता,आम जनता माझ भण्डारी निकै लोकप्रिय हुनुहुन्छ । निरन्तर जनतसंगको सम्पर्क र सम्वादले जनताको अपेक्षा र आबस्यकता संग उहाँ राम्रोसँग परिचित हुनुहुन्छ । सरकारमा बसेर के बिषयमा,कस्तो र कसरी डेलिभरी दिने हो भन्ने कुरा उहाँलाई भलिभाँति जानकारी छ।उहाँको अनुभव,क्षमता,इमानदारी र जनता प्रतिको लगाव र समर्पणलाई पहिचान र कदर गर्न काङ्ग्रेस चुक्न हुन्न । अहिलेको सरकारमा उहाँको सहभागिताले सिङ्गो सरकार र काङ्ग्रेसको छवि, कार्यशैली र उपलब्धिमा सकारात्मक प्रभाव पर्ने निश्चित छ।
अहिलेको विशिष्ट परिस्थितिमा तपसिलका विभिन्न कारण र अवस्थाले शंकर भण्डारीलाई मन्त्री बनाउँदा नेपाली काङ्ग्रेस भित्र र बाहिर जाने सन्देश तथा पर्ने प्रभाव सकारात्मक हुन सक्ने धेरैको बुझाई छ।

